बिहारको लखीसरायमा भएको भीषण सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैजना दाहसंस्कार गरी सुमो कारमा जमुई फर्कदै गर्दा उनीहरुको कार ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने ५ जना बलिउड अभिनेता सुशान्त सिंह राजपुतका आफन्त थिए ।

लखिसराई जिल्लाको सिकन्दरा–शेखपुरा राष्ट्रिय राजमार्ग–३३३ स्थित हल्सी प्रहरी चौकी क्षेत्रको पिपरा गाउँ नजिक मंगलबार बिहान दुर्घटना भएको हो । ट्रकसँग भएको भीषण ठक्करबाट सुमोमा सवार एकै परिवारका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जमुईको सदर अस्पतालमा उपचार भइरहेको छ ।

सुमोमा सवार सबै १० जना दाहसंस्कार गरेर पटनाबाट जमुई फर्किरहेका थिए । त्यसपछि सिकन्दरा–शेखपुरा राजमार्गमा सुमो र ट्रक ठोक्किएका थिए । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी ४ जना गम्भीर घाइते भएका छन् । ट्रकमा खाली एलपी ग्यास सिलिन्डर लोड गरिएको थियो ।

जानकारीका अनुसार जमुई जिल्लाको खैरा थाना क्षेत्र सगदह भण्डारा गाउँका लालजीत सिंहकी श्रीमती गीतादेवीको दाहसंस्कारमा सहभागी भई सुमो गोल्डमा चालकसहित एकै परिवारका १० जना गाउँ फर्किँदै थिए । तर बाटोमा एउटा भीषण सडक दुर्घटना हुँदा गीतादेवीका श्रीमान् लालजीत सिंह, जेठा छोरा ​​नेमानी सिंह, कान्छो छोरा रामचन्द्र सिंह, छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको घटनास्थलमै मृत्यु भएको थियो ।

यस दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये एक स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतका जेठाजी लालजीत सिंह थिए। सुशान्त सिंह राजपूतका जेठाजु हरियाणाको पुलिस विभागमा उच्च पदमा कार्यरत छन् र उनको नाम ओमप्रकाश सिंह हो। ओमप्रकाश सिंहकी बहिनी गीतादेवीको दाहसंस्कारपछि सबैजना पटनाबाट जमुईमा आफ्नो घर आउँदै थिए । दुर्घटनापछि परिवारमा शोक छाएको छ । गाउँमा पनि शोक छाएको छ । – एजेन्सी

Leave a comment

Your email address will not be published. Required fields are marked *