श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगे पछि राष्ट्रपति पद बाट राजीनामा दिएका छन्।

अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।

उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए। राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।

सिङ्गापुर सरकारले उनलाई “निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश” दिएको बताएको छ।

उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए। तर उनले बुधवार त्यस्तो कुनै पत्र पठाएनन्।

यद्यपि बिहीवार अबेर श्रीलङ्काको संसद्‌का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिएका छन्।

राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।

उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, “उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यत: शरणको अनुरोध स्वीकार गर्दैन।”

राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घ शपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्ने छैनन्।

शपथ लिएपछि सं‌स‍द्‌बाट अनुमोदित हुन उनीसँग ३० दिनको समय हुनेछ। यदि उनी अनुमोदित भएनन् भने सांसदहरूले नयाँ राष्ट्रपतिका लागि मतदान गर्न आवश्यक हुन्छ।

राष्ट्रपति राजपक्षले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएको समाचार आयो।

त्यसपछि विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरे। उनले बिहीवार दोस्रो दिन कर्फ्यू घोषणा गरेका बेला राजपक्ष माल्दिभ्सबाट सिङ्गापुरतर्फ लागेको खबर आएको थियो।

विक्रमसिङ्घले स्थानीय समयानुसार बिहीवार १२ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेका छन्। अहिले श्रीलङ्कामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि राजीनामा मागिरहेका छन्।

सिङ्गापुर सरकारले उनलाई त्यहाँ लामो समयसम्म बस्न दिन्छ भन्ने कुरा सन्देहपूर्ण छ।

उक्त समृद्ध सानो राष्ट्रले विगतमा विवादास्पद व्यक्तित्वहरूलाई बस्न दिएका उदाहरणहरू छन्। उदाहरणका लागि, सिङ्गापुरमा बर्माका सैन्य नेता थेन सेन, जिम्बाब्वेका रोबर्ट मुगाबे र उत्तर कोरियाका किम जङ-अन पनि त्यहाँ बसेका थिए।

तर राजपक्षलाई लामो समयसम्म आश्रय दिने उनीहरू पनि तयार नहुन सक्छन्।

किनभने राजपक्ष युद्धअपराधको आरोप लागेका व्यक्ति हुन्। त्यसले गर्दा उनी विश्वव्यापी गहिरो छानबिनको दायरामा जान सक्छन्।

उनी देश आर्थिक रूपले ध्वस्त भएका बेला भागेका छन्। सिङ्गापुरले त्यति धेरै अन्तर्राष्ट्रिय आलोचनलाई पक्कै थाम्न सक्नेछैन।

सिङ्गापुरका अधिकारीहरूले आफ्नै जनताबाट पनि आलोचना खेप्नुपर्नेछ किनकि पछिल्ला वर्षहरूमा सिङ्गापुरका जनताहरू पनि निकै मुखर बन्न थालेका छन्।

उक्त देशमा उल्लेख्य मात्रामा तमिल समुदायका मानिसहरू छन्। तीमध्ये कतिपय श्रीलङ्कासँग परम्परागत सम्बन्ध भएकाहरू पनि छन्।

राजपक्ष रक्षामन्त्री भएका बेला हजारौँ तमिल सर्वसाधारणको हत्या गर्न उनले अनुमति दिएको आरोप पनि लाग्ने गरेको छ।

उनको उपस्थितिले सिङ्गापुरस्थित कैयौँ तमिलहरू क्रुद्ध हुनेछन्। त्यसले त्यहाँ कायम शान्ति खल्बलिन सक्छ।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *