सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ।

सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए।

सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ।

सुडानमा लामो समय शासन गरेका ओमार अल-बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ।

सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गर्दै प्रदर्शन भाई रहेका छन ।

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पुर्‍याएका छन् र टायर बालेका छन्। थुप्रै महिलाहरू पनि “सैन्य शासन चाहिँदैन” भन्दै नारा लगाइरहेका छन्।

विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन्।

केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत रहेको बताइएको छ र चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरिरहेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *