न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरस रोकथामका लागि लगाईएका प्रतिबन्ध हटाउने घोषणा प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्।

त्यसको अर्थ न्यूजील्यान्डमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ।

सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ। आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन्।

आर्डर्नले ‘तर भाइरस निर्मूल नहुने त्यसैले निरन्तरको प्रयास आवश्यक पर्ने’ चेतावनी दिइन्।

उनले भनिन्,

“न्यूजील्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।”

न्यूजील्यान्डले कोरोना को लडाई कसरी जीत्यो ?

न्यूजील्यान्डमा अब एउटा पनि सक्रिय कोरोनाभाइरस सङ्क्रमण बाँकी नभएपछि न्यूजील्यान्डले भाइरस जितेको जस्तो देखिएको छ।

शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो। उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो।

पाँच हप्ताको कडा लकडाउनपछि केही घर लगेर खान मिल्ने ‘टेकअवे’ पसलहरू र केही कम अत्यावश्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो।

अन्त्यमा एप्रिलको अन्त्यतिर नयाँ सङ्क्रमण झण्डै शून्यमा झर्‍यो। त्यसपछि त्यहाँ झन् धेरै प्रतिबन्धहरू खुकुलो बनाइयो।

अहिले भाइरस समाप्त भएजस्तो देखिन्छ। तर प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छन्।

न्यूजील्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *