फेब्रुअरी २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा हिंसात्मक विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो।

म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५,६३६ बन्दीलाई रिहा गरिने बताएका छन्।

सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो।

दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय दबाव

एउटा निगरानी समूहका अनुसार म्यान्मारमा आङ सान सू चीलाई सत्ताबाट हटाइएपछि गरिएको दमनका क्रममा कम्तीमा १,१७८ जनाको मृत्यु भएको छ भने ७,३५५ जनलाई पक्राउ गर्नेदेखि अभियोग लगाउने र सजाय दिने काम भएको छ।

सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्त्वपूर्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताए।

आसियानले शुक्रवार बसेको उक्त सङ्गठन आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यान्मारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न दिने या नदिनेमा सहमति नभएको जनाएको थियो।

सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको उक्त निर्णयलाई अभूतपूर्व भनिएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *