संसारकै पिरो खुर्सानी खाएर गिनिज बुकमा नाम

क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ।

तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ ज्यानमारा खुर्सानी कपाकप खाएका छन् । मात्र १० सेकेण्ड भन्दा कम समयमा तीनवटा क्यारोलिना रिपर खुर्सानी खाएर क्यानडाका एक युवाले विश्व कीर्तिमान कायम गरेका हुन् ।

माइक ज्याक नामक ती युवकले जस्तो सुकै पिरो खुर्सानी पनि सहजै खान सक्ने क्षमता राख्दछन् । नयाँ कीर्तिमान कायम राख्ने क्रममा उनले ९.७२ सेकेण्डमा तिनवटा खुर्सानी खाए ।

गत नोभेम्बरको २१ तारेखमा उनले क्यानडाको ओन्टारियोमा पर्ने लण्डन सहरमा आयोजित एक कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन् । उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले हालै आधिकारिकता प्रदान गरेको छ ।

कोरोना भाइरस महामारीका कारण लागू भएको सामाजिक दूरी सम्बन्धी नियमका कारण उनले घरभित्रै खुर्सानी खाने कार्यक्रमको आयोजना गरेका थिए । जहाँ दर्शकको रुपमा केवल उनकी पत्नी जेमी ज्याक थिइन् । जेमीले केवल दर्शकको मात्र नभई टाइम किपर र प्रशिक्षकको समेत भूमिका खेलिन् ।