पर्यटन - मंसिर ५, २०७६

नेपालमा पर्यटन व्यवसायको सम्भावना (निबन्ध)

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र विश्वमै घुम्नै पर्ने दस वटा देशको सुचिमा नेपाल पनि परेको छ । विभिन्न उद्देश्यले एउटा देशका नागरिक देश भित्र वा अन्य भ्रमण गर्ने प्रक्रियालाई नै पर्यटन भनिन्छ । पर्यटकलाई सुविधा उपलब्ध गराउन सन्चालित व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटन व्यवसाय अन्तर्गत पर्यटकहरुलाई होटल, लज, मनोरन्जन, सञ्चार, यातायात जस्ता विभिन्न सेवा सुबिधाहरु उपलब्ध गराउनु पर्दछ । जस्ले गर्दा पर्यटन व्यवसाय मौलाउँदै पर्यटन क्षेत्र व्यापक बनाउन मद्दत गर्छ । नेपालमा पर्यटन व्यवसायका थुप्रै सम्भावना छन् ।

नेपाल कला, सस्ंकृति, जात जाति, भाषा, धर्म लगायतका पक्षमा विविधताले भरिएको मुलुक हो । नेपालमा १२३ भाषा, १२५ जातजाति, र १० भन्दा बढि धर्म मानि मानिसहरु बसोबास गर्छन् । चार वर्ण छतिस जातका मानिसहरुको रहन–सहन्, रीतिरीवाज, चाडपर्व, संस्कृतिको पहिचान गर्न एवम् अध्ययनका लागि मानिसहरु आउने हुँदा नेपाल पर्यटकहरुको गन्तव्य बनेको छ । त्यति मात्र कहाँ होर नेपाल प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण मुलुक हो । यहाँ ८००० मिटर भन्दा अग्ला हिमालहरु थुप्रै छन् । संसार कै सबैभन्दा अग्लो सर्वाेच्च शिखर सगरमाथा पनि नेपाल मै रहेको छ । जसको उचाइ ८,८४८ मिटर अग्लो रहेको छ । सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्न विदेशीहरु नेपाल आउने भएकोले पनि नेपाल पर्यटकीय क्षेत्रको लागि एकदमै उचित देखिन्छ । नेपालमा सगरमाथा मात्र नभएर कञ्चनजंघा, गौरीशंकर, मनास्लु, अन्नपुर्ण जस्ता हिमालहरु पनि प्रशस्त पाइन्छ । नेपालमा बिभिन्न संरक्षण क्षेत्र, सिकार आरक्ष र राष्ट्रिय निकुञ्जहरु पनि थुप्रै पाइन्छन् ।

चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजंघा सरंक्षण क्षेत्रहरु रहेका छन् । यसैगरी मनाङ, मुस्ताङ, मुगु, डोल्पा, लाङटाङ, गोसाइकुण्ड आदि पर्यटकीय गन्तव्य छन् । नेपालमा मनोरम पहाडी स्थल, नदि, ताल, झरना, गुफाहरु छन् जसले बिदेशी पर्यटकको मनलाई लोभ्याउँछ । नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण मुलुक हुनुका साथै नेपाल ऐतिहासिक र धार्मिक स्थलका प्रसिद्ध ठाउँ पनि हो । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, गोसाइकुण्ड, मनकामना, पशुपतिनाथ आदि यहाँका धार्मिक स्थलहरु हुन् । त्यसैगरी काठमाडौं उपत्यकामा रहेका प्राचिन दरबारहरु जस्तै, भक्तपुर दरबार क्षेत्र, हनुमान ढोका दरबार क्षेत्र, पशुपति क्षेत्र आदि नेपालका ऐतिहासिक स्थलहरु हुन् ।

जसको अध्ययन गर्न बिदेशी पर्यटकहरु असंख्य मात्रामा नेपाल भित्रिन्छन् । नेपालका नदिहरुमा ¥याफ्टिङ गर्न सकिन्छ । हिमाल आरोहण, प्याराग्लाइडिङ तथा बञ्जी जम्पीङ जस्ता साहसिक गतिबिधीहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई झन अगाडि लान सकिन्छ । नेपाल प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पुर्ण कुरामा धनि मुलुक हो । यसको माध्यमबाट नेपालले धेरै फाइदाहरु लिन सक्छ । यदि नेपालले पर्यटन व्यवसायलाई बढावा दिँदै जाने हो भने नेपालले पनि आर्थिक विकास गर्न सक्छ । नेपालमा पर्यटन व्यवसायका लागि सम्पूर्ण मानिसहरुको ध्यानाकर्षण गराउन सकेमा यहाँ प्रचुर मात्रामा पर्यटन व्यवसायको सम्भावना रहेको छ ।

यदि नेपाल सरकारले पर्यटन व्यवसायलाई मध्यनजर गर्दै यसको क्षेत्र व्यापक बनाउन तिर लाग्ने हो भने नेपालको अर्थतन्त्र नै यहि पर्यटन व्यवसायबाट धानिन सक्छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पहिचान प्राप्त गर्छ । यदि नेपालमै पर्यटन क्षेत्रको विकास भएमा हजारौं हजार नेपाली युवा वर्गहरुले पनि रोजगारी प्राप्त गर्छन् । कमसेकम खाडी मुलुकमा गएर ५० डिक्री तापक्रममा बाह्रै घण्टा काम गर्नु पर्दैन । नेपालीहरुले स्वदेशमै रोजगारको सुनौलो अवसर प्राप्त गर्छन् । यहि नेपाल सरकारको चौधौं पञ्चवर्षीय योजना अनुरुप पर्यटन क्षेत्रको विकास हुने हो भने पक्कै पनि नेपालले विकासको सुनौलो ढोकाहरु खोल्दै विश्वमा नै नेपालीले आफ्नो परिचय बनाई शिर उठाएर बाँच्न सक्छन् ।

सरिता ठकुरी शाही, कक्षा–१०, अमर मावि, हेटौंडा–१, चाइनाक्वाटर

Leave a Reply

Your email address will not be published. Required fields are marked *