सुरक्षा निकायको निगरानी रहेको स्थानमै विप्लव समुहले चार ठाउँमा बम राख्यो

धनगढी – सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहजै चार ठाउँमा बम राख्यो।

मंगलबार सुदूरपश्चिम बन्द घोषणा गरेको पार्टीले सुरक्षा निकायको प्रत्यक्ष निगरानी रहेको स्थानमा सहजै बम राखेको भेटिएको छ।

धनगढीस्थित सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेशसभा नजिक विप्लव समूहले बम राखेको हो।

धनगढीको वडा प्रहरी कार्यालय अगाडि मात्र १ सय मिटरको दूरीमा रहेको सामाजिक विकास मन्त्रालयको गेटमा बम भेटियो।

२४ घण्टा नगरको सुरक्षामा खटिएको भनिने वडा प्रहरीकार्यालयकै अगाडि विप्लव समूहले सहजै बम राख्न सक्नु प्रहरीको असफलता भएको स्थानीय बताउँछन्।

त्यती मात्र होइन सामाजिक विकास मन्त्रालयको झण्डै ५ सय मिटरको दूरीमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको गण रहेको छ । अझ जिल्ला प्रशासन कार्यालय त झण्डै ३ सय मिटरको दूरीमा मात्र रहेको छ।

अर्को बम राखिएको स्थान भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको ठ्याक्कै अगाडि एक सय मिटरको दूरीमा प्रदेश प्रहरी कार्यालय अर्थात सुदूरपश्चिम प्रहरी प्रमुखको निवास रहेको छ । त्यहाँ पनि विप्लव समूहले सहजै बम राख्न सफल भएको छ।

२४ सै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहने प्रदेशसभा भवन अगाडि पनि बम भेटिएको छ। यति ठूलो सुरक्षाकर्मीको उपस्थिति रहेको राजधानीमा यसरी सहजै बम राख्नुमा सुरक्षा निकायको असफलता र लापरवाही रहेको धनगढीका स्थानीय बताउँछन्।

विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनलाई पक्राउ गरेको विरोधमा उक्त पार्टीले सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो।

आफ्ना नेता पक्राउ परेपछि आक्रोशित विप्लव समूहले सुरक्षा खतरा निम्त्याउन सक्ने आँकलन गरिएको थियो । तर सुरक्षा निकायले यसलाई गम्भीरतापूर्वक नलिएको स्थानीय बताउँछन्।

यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा भने पहिलेदेखि नै सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताउँछन्। उनले भने–‘हामीले दुई-तीन दिन पहिलेदेखि नै सुरक्षाको प्रबन्ध मिलाएका थियौँ तर रातिको समय सुरक्षाकर्मीलाई छलेर झाडीमा बम राखेछन्, हामीले बिहानै डिस्पोज गरिसक्यौँ ।’

उनले अघि भने, ‘सुरक्षाकर्मीले पनि सबै ठाउँ निगरानी कसरी गर्न सक्छ।’ उनी सुरक्षा निकायको लापरवाही वा असफलता स्वीकार्दैनन् बरु सुरक्षा निकायको आँखा छलेको बताउँछन्।

यी सबै ठाउँमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

बिहानै बम भेटिएपछि भने धनगढीमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ।

Total
2
Share