दार्चुलाको कालापानी क्षेत्रमा फोरजी सेवा विस्तार हुने

दार्चुला – नेपाल टेलीकमले दार्चुलाको व्यास गाउँपालिका, छाङरुमा फोरजी सेवा विस्तार गर्न थालेको छ ।

अहिलेसम्म सञ्चार सेवा नपुगेको व्यास गाउँपालिका र कालापानी क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनका लागि नयाँ टावर जडान गर्ने भएको छ ।

नेपाल टेलिकमले फोरजी टावर जडानको लागि हुआवेई टेलिकम सँग टेण्डर गरिसकेको छ । हुआवेई टेलिकमले छाङरुमा फोरजी सेवा विस्तारका लागि जीएसएम (नमस्ते) मोबाइलको टावर बनाउने छ ।

छाङरु गाउँ नजिकैको ज्याक्ति भन्ने स्थानमा ३५ मिटर लामो टावर बनाएर दुहुँ र व्यास गाउँपालिकाको सीमा क्षेत्र रहेको ब्रह्मलेकबाट व्यासको टावरलाई लिङ्क दिइने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

टावर निर्माणको ठेक्का सम्झौता भइसकेको भए पनि लकडाउनका कारण सामान ढुवानीमा केही ढिलाइ भएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । सामान ढुवानी भएको एक महिनाभित्र फोरजी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

व्यासमा नयाँ टावर जडान गरी फोरजी सेवा सञ्चालनका लागि व्यास गाउँपालिका–१ ले भवन निर्माण गरिरहेको छ । छाङरुमा टावर सञ्चालन भएपछि तिङ्करमा स्काई मोबाइलको टावर राख्ने योजना छ ।
हाल छाङरुमा रहेको स्काई मोबाइल टावरलाई तिङ्कर सारिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । छाङरुमा राखिने नमस्ते फोरजी टावरले तिङ्कर गाँउसम्म कभरेज नपुग्ने भएकोले तिङ्करका लागि छुट्टै टावर राखिने उहाँको भनाइ छ ।