बैतडीमा थप २५ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या ५२ पुग्यो

बैतडी – बैतडीमा बिहीबार एकै दिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार पुष्टि भएका २१ समेत गरी बैतडीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५२ पुगेको छ ।

बिहीबार २५ जना थप कोरोना पुष्टि हुनेमा दशरथ चन्द नगरपालिकामा १० जना, सिगास गाउँपालिकामा छ जना, पञ्चेश्वर गाउँपालिकामा चार जना, सुर्नया गाउँपालिकामा तीन जना र पाटन नगरपालिकामा दुई जना गरी बिहीबार एकै दिन २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार दशरथ चन्द नगरपालिकाको वीरेन्द्र मावि शाहीलेक क्वारेन्टाइनमा २१, ३३, २०, २६, २८ र २५ वर्षका पुरुष, दशरथचन्द नगरपालिकाकै जगन्नाथ बहुमुखी क्याक्पसको क्वारेन्टाइनमा रहेका ४० वर्षका पुरुष, रातामाटा क्वारेन्टाइनमा १४ वर्षीया बालिका र ३८ वर्षका पुरुष र बाराकोट क्वारेन्टाइनमा रहेका २४ वर्षका पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, सिगास गाउँपालिकाका २४, २१, २२ , १८ र उमेर नखुलेका अन्य दुई जना गरी छ जनामा कोरोना पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका २६, ४०, २३ र ३१ वर्षका पुरुष, सुर्नया गाउँपालिकामा २१, ४५ र २८ वर्षका पुरुष र पाटन नगरपालिकामा १८ वर्षका दुई जना पुरुष गरी बैतडीमा एकै दिन थप २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ ।

कोरोना पुष्टि हुने सबै भारतका विभिन्न सहरबाट आएका हुन् । पुष्टि हुने अधिकांश सङ्क्रमित १४ दिन क्वारेन्टाएन बसेर घर गइसकेका छन् । घर गएपछि कोरोना पुष्टि भएको तर, लक्षण नदेखिएको खण्डमा होम आइसोलेसनमा बसाल्न स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

बैतडीबाट धनगढी पठाएका अझै चार सयभन्दा बढीको पीसीआर परीक्षण रिपोर्ट दुई हप्तादेखि आउन बाँकी रहेकाले स्थानीय तहले आइसोलेसन र होम आइसोलेसनको तयारी गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । गोकर्ण दयाल / गोरखापत्र

Total
17
Share