बैतडीमा एकै दिन २१ जनामा कोरोना पुष्टि ! परीक्षण नतिजा नआउँदै घर गएका थिए

सेती प्रादेशिक अस्पताल

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरु १४ दिन क्वारेन्टाईन बसेर घर गईसकेका छन् ।

२२ गते पठाएको स्वाबको परीक्षण नतिजा असार १ गते पोजेटिभ आएपछि स्थानीय सरकारले घर गएका सङ्क्रमित खोज्न बैठक डाकेको छ ।

सङ्क्रमितहरु जेठ ९ गते भारतबाट घर फर्केका थिए । १४ दिन क्वारेन्टाइन बसेर आरडिटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्लन गरेर जेठ २२ गते धनगढी पठाइएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा स्वाब परीक्षण गरिएका शिवनाथ गाउँपालिका –२, का २० वर्ष, ३५, २५, ३४, २२ र २१ वर्षका पुरुष र १० वर्र्षीय बालिका रहेका छन् ।

त्यसैगरी, शिवनाथकै वडा नम्बर –३, का २४, २१, २४, र १९ वर्षका पुरुष, वडा नम्बर –४, का २६, २१, ३०, २४ र २३ वर्षका पुरुष र वडा नम्बर ६ का, २६, १७, २१, २४ र १८ वर्र्षीय पुरुष गरि एउटै गाउँपालिकाका ४ वडाका २१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना पुष्टि हुनेको संख्या २७ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

पीसीआर परीक्षण गर्न पठाएका ४५९ जनाको अझैं नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख भट्टले भन्नुभयो, “ पीसीआर परीक्षणको नतिजा आउन निकै ढिलो भईरहेको छ । १४ दिन क्वारेन्टाईनमा बसेर आरडिटी पोजेटिभ आएकाहरुको स्वाब सङ्कलन गरेर धनगढी पठाउँने गरेका छौं । उतैबाट रिपोट ढिलो आइरहेको छ । लक्षण नदेखिकाहरुलाई गाउँपालिकाले होम आईसोलेशनमा पठाएपछि बल्ल सङ्क्रमण पुष्टि भएको रिपोर्ट आयो ।”

बैतडीको शिवनाथ गाउँपालिका भारतसँग सीमा जोडिएको महाकाली किनारको गाउँपालिका हो । पीसीआर परीक्षणको नतिजा ढिलो आउँदा समस्या उत्पन्न भएको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

भारतबाट आएकाहरुलाई आउने बित्तिकै परीक्षण गर्ने व्यवस्था नहुँदा १४ दिन क्वारेन्टाइन पूरा गरेपछि आरडिटी परीक्षण भईरहेको छ । आरडिटी पोजेटिभ देखिएकाको स्वाब सङ्कलन गरेर धनगढी पठाउँदा पनि समयमै रिपोट नआउँदा समस्या भएको गाउँपालिकाले बताएको छ ।

असार १ गतेसम्म बैतडीका १० स्थानीय तहमा ३ हजार ११७ जना क्वारेन्टाइनमा रहेका छन् । – गोकर्ण दयाल / गोरखापत्र