पर्यटन - सुदूरपश्चिम - पुष ७, २०७६

बैतडीको पाटनमा आगामी माघदेखि नियमितरुपमा प्याराग्लाइडिङ सञ्चालन हुने

बैतडी : बैतडीको पाटनमा आगामी माघदेखि नियमितरुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । प्याराग्लाइडिङको सफल परीक्षणपछि माघमहिनादेखि नियमितरुपमा प्याराग्लाडिङ सञ्चालनको तयारी भएको बैतडी अमेजिङ एडभेन्चर प्रालिका सञ्चालक भुपेन्द्र कार्कीले जानकारी दिए ।

‘हामीले पाटनको जोलाबाँजदेखि एयरपोर्टसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिसकेका छौं । परीक्षणको क्रममा प्याराग्लाइडिङ गर्न सकिने देखिएको छ,’उनले भने, ‘प्याराग्लाइडिङमार्फत जिल्लामा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य रहेको छ ।’

भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङ सञ्चालनको तयारी भएको कार्कीले बताए । नयाँ कुरा भएकाले सबै आकर्षित भएका छन् ।

प्याराग्लाइडिङ गर्नेहरुको संख्या बढ्ने अनुमान रहेको कम्पनीका अर्का सञ्चालक कृष्णप्रसाद जोशीले बताए। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्याराग्लाइडिङको आयोजना गरिएको बैतडी अमेजिङ एडभेन्चर्स प्रालिले जनाएको छ ।

जिल्लामा प्रशस्त पर्यटकीय सम्भावना रहेकाले प्याराग्लाइडिङले पनि राम्रो पर्यटक तान्ने माध्यम बन्ने कार्कीले बताए । पाटनसँगै दोगडाकेदार पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उनले बताए ।

‘हामीले पाटनमा प्याराग्लाइडिङ, दोगडाकेदारमा जीप लाइन र चमेलीया नदी र्याफ्टिङ सञ्चालनको तयारी गरेका छौं । यसमा सबैको सहयोगको आसा पनि गरेका छौं।’ प्याराग्लाइडिङको सफल परीक्षण भएकाले पाटनमा यो व्यवसाय फस्टाउन सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए ।

प्याराग्लाइडिङ सञ्चालनले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।उनले पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र विकासका लागि स्थानीय सरकारले पनि योजना अघि ल्याउनुपर्नेमा जोड दिए।

पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर, निङलाशैनी मन्दिर, रौलाकेदार मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती, भिटाकेदार मन्दिर, दोगडा धाम, देउलेक केदार, सिगास धुरा, त्रिवेणी धाम, डिलासैनी मन्दिर, ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ।

भारतीय सहर दिल्ली, लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ। पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *