बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षिय प्रयाग जेठारा र ७ बर्षीया बालिका अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको प्रहरी नायव उपरीक्षक बमले जानकारी दिए।

पहिरोमा बेपत्ता भएका २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता रहेका छन्।

गए राति वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बोहोराले बताए।

स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको वडा अध्यक्ष बोहोराले बताए। योसंगै पहिरोले ६७ किलोवाट क्षमता रहेको लघु जलविद्युत आयोजनासमेत बगेको छ।

वडा अध्यक्ष बोहराका अनुसार गाउँ नजिकै रहेको गण्डकी लघु जलविद्युत आयोजनाको पावर हाउस सहित टनेलसमेत पहिरोमा पुरिएको हो। जलविद्युत आयोजना पहिरोमा पुरिएसंगै गाउँपालिकाका करिव ६ सय परिवार अन्धकारमा बस्न बाध्य हुनेछन्।

पहिरो पीडितका लागि गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडासहित हेलिकोप्टर जाँदैछ। बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले संघ र प्रदेश सरकारले राहत पठाउन लागेको जानकारी पाएको बताए।

तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको उनले बताएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *