सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका नागरिकलाई कोरोना परिक्षणबिनै घर पठाइने भएको छ ।

कोरोना परिक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टाइनबाट परिक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले बिहीवार जारी गरेको सूचनामा प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २५० जनाको मात्रै पिसिआर परिक्षण गर्न सकिने जनाउदैं क्वारेन्टाइनबाट सिधै घर पठाउन लागिएको जनाइएको छ ।

भारतबाट फर्केर प्रदेशमा ९ वटै जिल्लामा गरि हाल ६६ हजार व्यक्ति क्वारेन्टाइनमा बसेकोले ती ब्यक्तीको परिक्षण गर्न आरडिटी किट समेत पर्याप्त नरहेको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकमा कुनै लक्षण नदेखिए मापदण्ड अनुसार होम क्वारेन्टाइनमा पठाउन सूचनामा भनिएको छ । ‘आरडिटी पोजेटिभ आएर क्वारेन्टाइनमा बसेका व्यक्तीमा पनि कुनै लक्षण नदेखिए रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा पठाउने र रिपोर्ट नेगेटिभ आए होम क्वारेन्टाइनमा बस्न लगाउने ’ जनाईएको छ ।

होम आइसोलेसन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना लक्षण देखा परेमा स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राखिने र स्थानीय स्तरमा उपलब्ध स्वास्थ्यकर्मीले उपचार गर्ने र थप उपचार गर्नुपरेमा जिल्ला तथा माथिल्लो अस्पतालमा पठाउने सूचना उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण प्रयोगशाला धनगढीमा मात्र छ ।

प्रदेशमा ३ प्रयोगशाला स्थापना गर्ने निर्णय भएपनि कार्यान्वयन नहुँदा कोरोना परिक्षणको दायरा बढाउन सकिएको छैन् । बैतडी र डोटीमा प्रयोगशाला स्थापनाको निर्णय कार्यान्वयन हुन सकेको छैन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *