कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने नेपालीहरुको संख्या घट्दै गएको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरुका लागि जेठ १२ गतेदेखि खुला गरिएको यहाँको नाकाबाट घर फर्किनेको संख्या केही दिनयता घटेको हो ।

नाका खुला हुँदा सुरुका दिनमा दैनिक ३ हजारभन्दा बढी भित्रिने गरेको यो नाकाबाट केही दिनयता ४र५ सय मात्रै भित्रिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार गड्डाचौकी नाका भएर ३८८ पुरुष, ६६ महिला र २८ बालबालिकासहित ४८२ जना भित्रिएका छन् । उनीहरु सबैलाई आ–आफ्नो जिल्लातर्फ पठाइएको प्रशासनले जनाएको छ । यो नाकाबाट बुधबार ८४ जना भारतीयहरु बाहिरिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार ३२१ पुरुष ६५ महिला र ३४ बालबालिकासहित ४२० भित्रिएका थिए ।

यसैगरी नेपालमा रहेका १५१ जना भारतीयहरु पनि बाहिरिएका छन् । ‘भारतमा पनि लकडाउन खुकुलो भएसँगै घर फर्किनेको संख्या घट्दै गएको छ’, सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरसिंह साहुले भने, ‘अलपत्र परेका धेरै नेपालीहरु फर्किइसकेका छन् ।’ उनले पछिल्लो पटक लामो समयदेखि काम बन्द भएर पुनस् सुचारु नभएका स्थानबाट मात्रै फर्किन लागेको बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ १२ देखि बुधबारसम्म १७ दिनमा २६ हजार २४२ जना नेपाल भित्रिएका छन् । यसैगरी ३ हजार ३५३ जना भारतीयहरु आफ्नो देश फर्किएका छन् ।

भारतबाट सवारी साधनमा दशगजामा पुगेका उनीहरुलाई सोही क्षेत्रमा विवरण संकलनसँगै स्वास्थ्य जाँच गरेर आ–आफ्नो जिल्लातर्फ पठाइएको हो ।

चैत ११ देखि नाका बन्द भएपछि सीमावर्ती क्षेत्रमा पुगेर अलपत्र परेका नेपालीहरु विभिन्न अवैध नाका भएर लुकीछिपि आउन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका खुला गर्ने निर्णय गरेको हो ।

त्यसअघि कतिपय महाकाली तरेर आएका थिए भने अधिकांश दोधारा चाँदनी भएर भित्रिएका थिए ।

भारतीय क्‍वारेन्टाइनमा बसेकाहरुलाई पनि भारतीय सुरक्षाकर्मीले मध्यरातमा दशगजामा छाडेपछि मात्रै प्रशासनले उनीहरुलाई भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *