पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण वनवासमा महाकाली नदीको पानीको स्तर लगातार बढिरहेको छ। महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

भारतले नदीमा आएको बाढीका कारण ब्यारेज पुलको २२ वटा ढोका खोलेको छ। सावधानीका रूपमा बाँध बाट नहरमा जाने पानी पनि बन्द गरिएको छ। मंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् ।

सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेको मापनअनुसार पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको छ ।

शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *