एजेन्सी – इटालियन सिरिए फुटबलको शनिबार राति सम्पन्न खेलमा लाजियोले सफलता हात पारेको छ। लाजियोले आफ्नो पछिल्लो खेलमा फियोरेन्टिनालाई २–१ गोलले हरायो। जितसँगै लाजियोले सिरिएको उपाधि जित्ने सम्भावना पनि कायमै राखेको छ।

लाजियोले ‘लिग लिडर’ युभेन्ट्ससँगको दूरी पनि चार अंकमा झारेको छ। युभेन्ट्स र लाजियोले अब १०÷१० खेल खेल्न बाँकी छ। युभेन्ट्स ६९ अंकसहित पहिलो र लाजियो ६५ अंकसहित दोस्रो स्थानमा आसीन छन्। लाजियोसँग पराजित भएको फियोरेन्टिना भने २८ खेलबाट ३१ अंक बटुल्दै तालिकाको १३औं स्थानमा छ।

खेलको पहिलो हाफमै पछाडि परेको लाजियोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको थियो। खेल सुरु भएको २५औं मिनेटमा अनुभवी खेलाडी फ्रांक रिबेरीले फियोरेन्टिनालाई अग्रता दिलाएका थिए। सोही गोलका कारण पहिलो हाफमा फियोरेन्टिना अगाडि रह्यो।

यसैगरी ६७औं मिनेटमा लाजियोका सिरो इम्मोबाइलले पेनाल्टीमार्फत जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि लाजियोका लुइस अल्बर्टोले अर्को गोल थप्दै घरेलु समर्थकलाई खुसी पारेका थिए।

खेलको अन्तिम समयमा फियोरेन्टिना १० खेलाडीमा समेटिएको थियो। इन्जुरी समयमा फियोरेन्टिनाका डुसान भ्लाहोभिच सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसअघि खेलिएको अर्को खेलमा काग्लिआरीले टोरिनोलाई ४–२ गोलले हराएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *