दुइ वर्ष का लागि नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक नियुक्त भएका पुबुदु दशानायकेले बुधवार एक पत्रकार सम्मेलनमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

नेपाली क्रिकेटका एक सफल प्रशिक्षको छवि बनाएका पुबुदु दशानायके श्रीलङ्काली मूलका क्यानेडियन नागरिक उनले स्कटल्यान्ड भ्रमणमा रहेका बेला गत साता इमेलमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) लाई राजीनामा दिने जानकारी गराएको बताइएको छ।

गत वर्ष मङ्सिर महिनामा दोस्रो कार्यकालका लागि नेपाली राष्ट्रिय टोली सम्हाल्न आएका दशानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्। क्यान ले उनीलाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको थियो।

यता दशानायकेले राष्ट्रिय टोली छोडेका छन्, तर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को वार्षिक साधारणसभामा सहभागी हुन लन्डनमा छन्।

दशानायके किन राजीनामा दिए?

राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन लगातार खस्किँदै गएका कारण दशानायकेले राजीनामा दिएको कतिपयको भनाइ छ। तर उनले “व्यक्तिगत कारणले राजीनामा दिएको” बताएका छन्।

दोस्रो कार्यकालको आठ महिना बीचमा दशानायकेको नेतृत्वमा नेपालले १४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलेकोमा ९ मा हार र ४ मा मात्र जित हासिल गरेको थियो। एक खेल बराबरीमा टुङ्गिएको थियो।

त्यस्तै टी-२० क्रिकेटमा भने १३ खेल खेल्दा १० मा जित र ३ मा हार बेहोरेको थियो। पछिल्लो पटक विश्वकप लिग डिभिजन-२ को अमेरिका र स्कटल्यान्ड भ्रमणमा समेत नेपालको प्रदर्शन राम्रो हुन सकेन।

विशेषगरी नेपाली टोलीको ब्याटिङ एकपछि अर्को खेलमा खस्किएको देखिएको थियो। स्कटल्यान्डमा खेलिएको चारमध्ये तीन खेलमा नेपाल नराम्ररी पराजित हुन पुगेको थियो।

नामिबियासँग दुई खेल हार्दा नेपाल सात राष्ट्र बीचको प्रतिस्पर्धामा छैटौँ स्थानमा झरेको थियो। “मेरा लागि नेपाल छोड्ने निर्णय लिनु कठिन थियो। यद्यपि मैले यतिबेला राजीनामा दिनै पर्छ,” उनले भने। “नत्र झन् खराब हुनसक्छ।”

पुबुदु दशानायके

पुबुदु को पहिलो सफल कार्यकाल

सन् २०११ मा पहिलो पटक नेपाली टोली सम्हाल्दा उनले नेपाली क्रिकेटको भाग्य नै बदल्ने गरी काम गरेको टिप्पणी हुनेगर्छ।

त्यतिबेला उनले आइसीसी विश्व क्रिकेट लिगको डिभिजन चारमा रहेको टोलीलाई लगातार विजेता बनाउँदै डिभिजन दुईसम्म पुर्‍याएका थिए।

उनकै नेतृत्वमा नेपालले सन् २०१४ को २० ओभरको विश्वकप खेल्यो। जुन नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मध्येमा पर्छ।

विशेषगरी दशानायकेले त्यतिबेला पारस खड्का नेतृत्वको नेपाली टोलीलाई खुलेर खेल्ने वातावरण मिलाउन र खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई उजागर गर्न अहम् भूमिका खेलेका थिए।

नेपाली खेलाडीहरूलाई खेल जित्ने मनोविज्ञान तयार पार्न समेत उनको भूमिका रहेको बताइने गरिन्छ। 

सन् २०१५ भने उनले यहाँको आन्तरिक किचलो कै कारण नेपाल छोडेको बताइन्छ। 

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *