बिग बासमा सन्दीप लगातार विकेटविहीन

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन् । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आएका उनले सो ओभरमा छ रन खर्चिए ।

आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिए । तेस्रो ओभरमा उनले पाँच रन मात्र खर्चिए भने चौथो ओभरमा लामिछानेले आठ रन दिए । होबार्टका लागि उनले चार ओभर बलिङ गर्दै २८ रन खर्चिए ।

यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहेका थिए । उक्त खेलमा उनले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिएका थिए । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिएका छन् । लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ । योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।