आईपीएलमा आफूमाथि रंगभेदी व्यवहार भएको थियो, डेरेन समी

वेष्टइण्डिजका पूर्व कप्तान डारेन सामीले इण्डियन प्रिमियर लिग (आईपीएल)मा आफूमाथि रंगभेदी व्यवहार हुने गरेको बताएका छन्।

उनले सनराइजर्स हैदरावादबाट खेल्ने क्रममा आफू र श्रीलंकन खेलाडी थिसेरा परेरालाई ‘कालु’ भनेर बोलाइने गरिएको र आफूले त्यसको अर्थ भर्खरै मात्र बुझेको बताएका छन्।

‘कालु’को अर्थ बुझेपछि आफूलाई रिस उठिरहेको पनि उनले बताएका छन्।

सामीले शनिबार आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्,

‘कालुको अर्थ मैले भर्खर थाहा पाएँ। जतिबेला म आईपीएलमा सनराइजर्स हैदरावादका लागि खेल्थेँ, त्यतिबेला उनीहरु मलाई र परेरालाई यही नामले बोलाउथे।’

सामीले अमेरिकामा जारी रंंगभेदविरुद्धको आन्दोलनलाई समर्थन गरेका छन्। साथै उनले ट्वीट गरेर क्रिकेटमा हुने रंगभेदविरुद्ध आवाज उठाउन पनि आईसीसीसँग माग गरेका छन्।

यस्तै स्टार क्रिकेटर क्रिस गेलले पनि क्रिकेटमा रंगभेद रहेको र आफू अश्वेत भएकै कारण विभिन्न रंगभेदी टिप्पणीको सामना गरेको बताएका छन्।

अमेरिकामा जर्ज फ्लोइडको हत्या प्रकरणपछि यतिबेला अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। उक्त आन्दोलनप्रति संसारभरबाट मानिसहरुले ऐक्यवद्धता जनाइरहेका छन्।

फ्लोइडको गएको मे २५ मा निधन भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए।

फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन्। त्यसको केही समयपछि फ्लोइडको मृत्यु भयो।

यसैबीच क्रिकेटमा हुने गरेका नश्लिय भेदभावका विषयमा डेरेन समी पनि आएका हुन ।