महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा २७३ कोरोनाभाइरस सङ्क्रमित फेला परेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि गाउँपालिका सिल गरिएको छ ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सम्सी गाउँपालिकामा मात्रै २७३ जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिनुभयो । सम्सी गाउँपालिकामा बुधबार मात्रै १८२ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो ।

महोत्तरी जिल्लामा अहिलेसम्म फेला परेको ५०८ कोरोना पोजिटिभमध्ये आधाभन्दा बढी सोही गाउँपालिकाको रहेको कारण सतर्कता अपनाउन सो गाउँपालिकाको चारकिल्ला भित्र रातिबाट सिल गर्ने निर्णय गरिएको प्रजिअ कटुवालले जानकारी दिनुभयो ।

सिल गरिएको अवधिमा आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन प्रशासनले गाउँपालिकाका बासिन्दासँग आग्रह गरेको छ ।

सम्सी गाउँपालिकामा रहेको १६ वटा क्वारेन्टाइनमा एक हजारभन्दा बढी मानिस राखिएकाे स्वास्थ्य कार्यालय, महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनहरू व्यवस्थित नहुँदा त्यहीँबाट बढीलाई कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आँकलन गर्नुहुँदै उहाँले गाउँपालिकालाई तत्कालै क्वारेन्टाइन सुधार गर्न आग्रह गरिसकिएको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *