महाभियोग लगाउने समाचार बाहिर आएपछि, नेकपाका तीन नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना शिर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ ।

अहिले उहाँहरूबीच छलफल भइरहेको बताइएको छ ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल बिहान ११ बजे भेटघाटका लागि शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिर आएपछि त्यस विषयमा राष्ट्रपतिले पनि चासो लिनुभएपछि छलफल गर्न नेताहरू शीतल निवास पुग्नुभएको सापकोटाले बताउनुभयो । राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा आफूहरूले छलफल नगरेको ती नेताहरूको दाबी रहँदैआएको छ ।

आइतबार पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो विषय हल्लामात्र भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीसँग अर्का अध्यक्ष प्रचण्डको केहीबेरमा छलफल हुने भएको छ । शीतल निवासबाट फर्केर सीधै प्रचण्ड बालुवाटार जानुहुने उहाँका प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।