कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने संविधान संशोधनको प्रस्तावमाथिको छलफलमा बोल्दै जनता समाजवादी पार्टीका नेताहरूले नक्सासम्बन्धी संशोधनमा आफूहरूको समर्थन रहेको बताएका छन्।

उनले यो विषयमा पनि मधेशी समुदायको राष्ट्रियतामा प्रश्न उठाइएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए।

पार्टीका नेता राजेन्द्र महतोले भने, “राष्ट्रियताको सवाल एकलौटी हुन सक्दैन। कुनै एउटा वर्ग वा क्षेत्रको मात्र राष्ट्रियता हुन सक्दैन।”

उनले भूमि फिर्ता लिने सवालमा मधेशी समुदायको समर्थन रहेको भन्दै अहिले पनि सिमानामा मधेशी समुदायले देशको रक्षा गरिरहेको उल्लेख गरे।

“राष्ट्रवादको सवालमा मधेशी समुदायमाथि औँलो नठड्याइयोस्,” महतोले भने।

सो पार्टीका अर्का नेता तथा पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना पृथ्वीनारायण शाहले गरेको भन्दै उनले दुई छिमेकी भारत तथा चीनसँग जति असल सम्बन्ध राखियो उति नै नेपालको हित र सुरक्षा हुने बताएको स्मरण गरेर सम्बोधन सुरु गरेका थिए।

उनले विगतमा भारतसँग महाकाली सन्धि गर्दा नदीको मुहान पत्तो नलगाइकनै संसद्‍बाट पारित गराउन जिम्मेवारहरूसँग राष्ट्रघातबारे प्रश्न गर्नुपर्ने बताए।

उक्त सन्धि गराउने पक्षमा वर्तमान प्रधानमन्त्री तथा तत्कालीन एमालेका नेता केपी ओली पनि सक्रिय थिए।

यादवले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन सकेमात्र विदेशीसँग दह्रो रूपमा प्रस्तुत हुन सकिने बताए।

शनिवार संसद्‌मा उक्त संशोधनको प्रस्ताव पारित हुने बताइएको छ।

त्यसपछि त्यसलाई माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि दुई तिहाइ मतले पारित गर्नुपर्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *