काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नभेटेको बताएका छन्।
शनिबार तिनकुनेस्थित रोयल ब्यांक्वेटमा आयोजित प्रदेश १ अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूले न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए।
‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन, देखेको पनि छैन। एकजना, सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो ,त्यो पनि परैबाट’, उनले भने।
केही सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीले सर्वोच्चका ४ जना न्यायाधीशरुलाई भेटेको समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री ओलीको यो भनाइ आएको हो।
सर्वोच्च अदालतले पनि कुनै पनि न्यायाधीशले प्रधानमन्त्रीलाई नभेटेको बताइसकेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोंच्चमा दायर मुद्दा विचाराधीन छ।
सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहका तत्कालीन मन्त्रीलाई बैगुनी केटाको संज्ञा दिए। ‘म बैगुनी केटाकेटीका कुरा गर्न चाहान्न्, यो केटालाई जितेर पठाउनुहोस, म मन्त्री बनाएर देखाउँछु भनेर कुदाकुद गरेर भोट पनि मागेँ,’ उनले भने, ‘जितेर आए पछि मन्त्री पनि बनाई दिएँ, अहिले त्यो बैगुनी केटाले पुक्क लातले हानेर भाग्यो।’
ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट पारे। आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ, सक्दैनौँ, दिइने छैन।’
प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए।
उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेकोरु भनी प्रश्न गरे।
अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए।
कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे।
DCnepal
Leave a Reply
View Comments