जनता समाजवादी पार्टीमा तीन अध्यक्ष रहनेगरी दल दर्ता गर्न सहमति

राजाप र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टी (जसपा) दर्ताका लागि नेताहरुबीच नेतृत्वका भागवण्डा मिलेको छ।

दुवै पार्टीले कार्यकारी अधिकार पाउनु पर्ने अडान राखिरहेका बेला महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तीनै जना अध्यक्ष रहने गरी दल दर्ताका लागि जाने सहमति जुटेका हो।

राजपाले ठाकुरलाई कार्यकारी अधिकारी दिनुपर्ने अडान राखेका थियो भने समाजवादीले ठाकुरलाई सेरिमोनियल भूमिका दिएर यादवलाई पार्टीको कार्यकारी भूमिका हुने गरी दल दर्ता गर्नुपर्ने अडान राखिरहेका बेला भट्टराईसहित तीनै जना अध्यक्ष हुने र अशोक राई र राजेन्द्र महतोले समेत भूमिका पाउने गरी दल दर्ता गर्ने सहमित जुटेको हो।

नेता लक्ष्मण दल कार्णका अनुसार जसपाले आजै(आइतबार) नै निर्वाचन आयोगमा दल दर्ताका लागि कागजात बुझाउने तयारी गरेको छ। उनले भने, ‘नेतृत्वको विषयमा कुरा मिलेको छ। कागजात बनाएर हामी आजै दल दर्ताका लागि आयोग जाँदैछौँ।’

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ।

वैशाख १० गते राति एकता घोषणा गरेका दुई दलले शनिबार (जेठ २४ गते)सम्म कागजात बुझाउनु पर्ने भए पनि अन्तिम दिन बिदा परेपछि भोलिपल्ट समेत म्याद पाइने व्यवस्थाअनुसार उनीहरु आइतबार आयोग जान लागेका हुन्।

वैशाख ११ गते निर्वाचन आयोग पुगेर दुई दलका नेताले एकताबारे जानकारी दिए पनि त्यसपछि थप कागजात लिएर जान सकेका थिएनन्।