काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उग्रराष्ट्रवाद वा तत्कालीन राष्ट्रवाद जे भनेपनि भारतीय नाकाबन्दीविरुद्ध लडेको कारण केपी शर्मा ओलीको व्यक्तित्व निर्माण भएको मान्छन् । त्यसले ‘सर्वेसर्वा म नै हुँ, मैले जसलाई चाह्यो उसलाई खेलाउन सक्छु’ भन्ने ओलीलाई लाग्न थालेको उनको विश्लेषण छ ।

दुईतिहाइको सरकारको नेतृत्व गरिरहँदा नेपाली कांग्रेसका नेताहरूसँग भेटी मिलेर सरकार चलाउनुपर्छ भन्नु त्यसको प्रमाण भएको उनको बुझाइ छ । तर पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्थापन गर्दागर्दै जब छलछाम भयो, त्यसपछि प्रधानमन्त्री ओलीको खेल बिग्रिएको आचार्य बताउँछन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छाडेर ओलीलाई ५ वर्ष प्रधानमन्त्री स्वीकार गर्दा पनि सेरेमोनियल कार्यकारी अध्यक्ष मात्र दिएपछि प्रचण्ड झस्किएको बताउँदै आचार्य भन्छन्, ‘लाखापाखा लागेका सबै प्रचण्डलाई अगाडि सारेर केपी ओलीसँग लड्न अग्रसर भए ।’

कमिटीहरूमा अल्पमतमा परेका ओली पार्टी व्यवस्थापनमा मात्र होइन, राम्रोसँग सरकार चलाएर जनता व्यवस्थापन गर्न पनि चुकेको आचार्यको विश्लेषण छ । झन् कोरोनाकालमा त आफ्नो छवि जोकर जस्तो भएपछि प्रधानमन्त्रीको ‘लेजिटिमेसी’ नै कमजोर बन्न थालेको उनले बताए ।

‘हिजो पार्टीले ओलीलाई बोकेको थियो, सञ्चारमाध्यमले हिरो बनाएका थिए, जनताले राष्ट्रवादी मानेका थिए’, आचार्य भन्छन्, ‘ती सबको हावा फुस्किँदै गएपछि आलंकारिक राष्ट्रपति मात्र उहाँको साहारा रहनुभयो ।’

राष्ट्रपतिकै साहारामा वैशाखमा राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याउनु, प्रतिनिधि सभाको अधिवेशन हठात् अन्त्य गर्नु र पार्टीका बैठकहरू टार्दै जानुलाई प्रधानमन्त्री ओलीका ‘फ्रस्टेटिङ मुभ’ मान्छन् आचार्य ।

हामीले उनलाई सोध्यौं, त्यसो भए प्रतिनिधिसभा विघटन ‘फ्रस्टेसन’को चरम रूप हो ?

हो, पार्टीले साथ छाड्यो, चीनले पनि सरकारलाई होइन पार्टीलाई साथ दिएको देखियो । अघिल्लो पटक त चिनियाँ राजदूतले फुटिसकेको पार्टीलाई जोगाइदिएर उद्धार नै गरेकी हुन् । यसपटक आफ्नो पावरले नपुगेर कम्युनिस्ट पार्टी अफ चाइनाका उच्च प्रतिनिधिलाई बोलाइन् । सुनेअनुसार प्रधानमन्त्री ओली चिनियाँ टोलीलाई भेट्न इच्छुक हुनुहुन्न’थ्यो । परिणामले पनि त्यही देखायो । चिनियाँ टोली फर्किएपछि ओलीजीको निर्भरता भारततिर बढ्यो ।

सरकार सञ्चालनमा फेल, पार्टी व्यवस्थापनमा फेल, भारत, चीन, अमेरिका लगायत अन्तर्राष्ट्रिय शक्तिसँग ‘डिल’ गर्न फेल भएपछि तिमीहरू मलाई लखेट्छौं भने मैले ल्याएको म्याण्डेट हो, म तिमीहरुलाई प्रधानमन्त्री हुन दिन्नँ, बाटो नै बन्द गरिदिन्छु भनेर प्रतिनिधि सभा नै भंग गर्नुभयो । यो एकदमै अवैध तरिका हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *