भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि, हटाउने सहमति

रौतहट – भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ ।

नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा ११ स्थानमा फलामे पाइप ३ फिट गहिरो कंक्रिट ढलानसहित मध्यविन्दु तोकिएको छ । यसरी तोकिएको मध्यविन्दु बाँधको उत्तरी फेदमा परेपछि भारतीय पक्षले दशजगा मिचेको पाइएको हो ।

नापी विभागले तोकेको मध्यविन्दुबाट ९.१ मिटर उत्तर र दक्षिण तर्फ ‘नो-म्यान्स ल्याण्ड’ अर्थात् दशगजा भनिन्छ । जहाँ दुवै पक्षले कुनै पनि स्थायी तथा अस्थायी भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर ३४६–६ नम्बर पिलरबाट पश्चिमतर्फको बाँध १ मिटरदेखि ५ मिटरसम्म दशगजाभित्र परेको पाइएको छ ।

दशगजमा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाएका छन् । विवादित रहेको पिलर नम्बर ३४६–५ देखि ३४६–७ को बीचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म करिब २०० मिटरसम्म दशगजा क्षेत्रलाई मिचेर बनाएको बाँधको पूर्णभाग वर्षा र बाढी पूर्व नै यथाशीघ्र हटाउनु आवश्यक छ । दुवै देशको प्राविधिक टोलीले जीपीएस प्रविधिबाट नक्साको पहिचान गरेर सीमा क्षेत्रमा ११ स्थानमा अस्थायी पिलर गाडिएको छ ।

इशनाथ नगरपालिका १ का वडाध्यक्ष विगु साह बनियाँले भने भारतीय पक्षले वर्षौंदेखि बाँधमा निर्माण तथा स्तरोन्नतिको काम गर्दा पनि प्रशासनले पहल नगरेका कारण नेपालतर्फ डुबानको समस्या हुँदै आएको बताए । दुवै देशको नापी विभागले मध्यबिन्दु भनेर रेखाङ्कन गरेको स्थानबाट दशगजा क्षेत्र प्रष्ट भएपछि दुवै देशका बासिन्दालाई सहज हुने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बन्जरहादेखि दक्षिण दशगजामा सीमा छुट्याइएको बताए । ‘अतिक्रमण हटाउन भारतीय पक्षले सहमति गरेका छन्’ उनले भने, ‘यथासक्य चाँडो हटाउने भनेका छन्, तर उनीहरूको तर्फबाट ढिला सुस्ती भयो वा आनाकानी भयो भने हामी आफैँ पनि हटाउछौं ।’-अनलाइन खबर