काठमाडौं । रात्रीकालिन व्यवसाय बन्द गर्ने सरकारको निर्णयप्रति व्यवसायीहरुले विरोध जनाएका छन् । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको छ ।
सोमबार नै सरकारले धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउने निर्णय गरेको थियो । यस्ता क्षेत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भन्दै वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय छ ।
सरकारको उक्त निर्णयको विरोधमा रात्रीकालिन व्यवसायी तथा कर्मचारीले मादल, खैजडी, स्कर्ट आदि बोकेर आन्दोलमा उत्रिने जनाएका छन् ।
सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबरजस्ति बन्द गराए सञ्चालक र कर्मचारी गरी ७० हजारले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालिन बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिले बताए । श्रेष्ठले भने, ‘पहिले पनि ९ महिना बन्द गरेको हो । अन्य व्यवसाय खुल्दा पनि हाम्रो भने बन्द नै रहेपछि हामीले आन्दोलन नै गरेर खुलाएका थियौँ । अब पनि आन्दोलनमा उत्रिन तयार छौं ।’
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको उनले बताए । कोरोनाको विकल्प बन्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालन गरेर दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सुन्धाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायलाई अन्याय गरेको बताए । पोखरेलले भने, ‘दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा ७० हजार मानिस जोडिएका छन् । १७ सय जना अपाङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौं । राज्यले दमन गरेर बन्द गराउन खोजे त्यसको प्रतिकार गर्ने छौं ।’
कोभिड संक्रमणको कारण वितेको १० महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय बन्द नगर्न व्यवसायीहरुले सरकारलाई आगह गरेका छन् ।
कुनैपनि उचित विकल्प नदिई रातको समयमा मात्रै कोरोना संक्रमण फैलने जस्तै गरी गरिएको विभेदपूर्ण निर्णय आफूहरुलाई मान्य नहुने व्यवसायीको तर्क छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ –‘साँच्चै भीडभाड हुने क्षेत्रलाई पहिचान नगरी सिधै यस क्षेत्रलाई बन्द गर्ने निर्णय हामीलाई मान्य छैन । यदि सरकारले यस क्षेत्रलाई बन्द गराउन चाहन्छ भने अन्य क्षेत्रलाई जस्तै राहत, सहुलियत तथा उचित विकल्प उपलब्ध गराउनुपर्दछ । यस क्षेत्रको घरभाडा, लगानी गरेका १००० भन्दा बढि लगानीकर्ताको लगानीको सुनिश्चितता तथा कार्यरत ७० हजार भन्दा बढि कलाकार। कर्मचारी र तिनका परिवारको रोजीरोटी तथा रोजगारीको पूर्ण ग्यारेन्टी सरकारले गर्नुपर्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *