कहिलेसम्म लम्बिएला संसद विघटनको बहस ?

काठमाडौं । संसद विघटनसम्बन्धी रिट विचाराधीन रहेकाले हाल धेरैको ध्यान सर्वोच्च अदालततिर छ । निर्वाचन घोषणा गरेको सरकार, संसद पुनःस्थापनाको माग राखेर आन्दोलनमा उत्रिएको नेकपाको प्रचण्ड–माधव समूह, आन्दोलन वा चुनाव भनी प्रष्ट बोल्न नसकेको नेपाली कांग्रेस, निर्वाचन आयोग र आम सर्वसाधारणसमेत अब सर्वोच्च अदालतले के निर्णय दिन्छ भन्ने प्रतीक्षामा छन् ।

संसद विघटन भएको एक महिनापछि आइतबारदेखि बल्ल संवैधानिक इजलासमा बहसले ‘विषय प्रवेश’ गरेको छ । मंगलबार तेस्रो दिनसम्म बहस चल्दा ९ जना कानुन व्यवसायीले धारणा राखेका छन् । आइतबार अधिवक्ता सन्तोष भण्डारीको रिटबाट बहस सुरु भएको छ र उनकै रिटमाथिको सुनुवाइ अझै जारी छ । भण्डारीका अनुसार उनकै रिटमा बहस गर्ने कानुन व्यवसायीको संख्या ४५ छ ।