ओली आफै निर्वाचन आयोगमा जाने र दाहाल नेपाल समूह ले पत्र पठाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ । त्यसका लागि आयोगले ११:३० बजे छलफलका लागि बोलाएको छ ।

छलफलका लागि केपी शर्मा ओली पक्षबाट नेता सुवास नेम्बाङ, महासचिव विष्णु पौडेल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल र प्रदेश मन्त्री रामेश्वर फुँयाल जाने भएका छन् । नेता नेम्बाङका अनुसार कानुनीविद् बाबुराम दाहाल र रमेश बडाल जाने भएका हुन् ।

आयोगले दुबै नेकपाले आफुलाई आधिकारिक दाबी गरेपछि छलफल गर्न बोलाएको हो ।

यता , नेपाल प्रचण्ड समूहले पार्टीका दुई अध्यक्ष बाहिर रहेकाले पत्रमात्र पठाउने तयारी रहेकाे बताएकाे छ । पार्टी कार्यालयका उपसचिव मोहन गौतमले पार्टीका दुई अध्यक्ष बाहिर रहेकाले पत्र पठाउने बताए । उनका अनुसार नेता लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान निर्वाचन आयोगमा जाने भएका हुन् । गौतमका अनुसार पार्टीको आधिकारिक पत्र बुझाउने र छलफलका लागि पछि मात्रै जाने बताए ।

अगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको निर्वाचन आयोगले जानकारी दिएको छ ।