अमेरिका सन् २०२१ जुलाई देखि विश्व स्वास्थ्य संगठन परित्याग गर्ने

अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्ने भएको छ ।

राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्न सूचना दिएको पुष्टि गरे।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ बाट बाहिरिन औपचारिक कदम चालेका छन । कोरोना महामारी फैलिएपछि गत मे महिनामा उनले डब्ल्यूएचओ बाट बाहिरने घोषणा गरेका थिए।

ईयूसहित विभिन्न पक्षले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले उक्त संयुक्त राष्ट्रसङ्घीय निकाय परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताउँदै आएका छन्।

अहिले ट्रम्पले संयुक्त राष्ट्रसङ्घ र कङ्ग्रेसलाई आफ्नो उद्देश्यबारे सूचित गरेका छन्। तर यो प्रक्रिया पूरा गर्न एक वर्षजति लाग्न सक्छ।

एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार अमेरिकी सरकारले डब्ल्यूएचओलाई सुधार गर्न तथा सोझै व्यवहार गर्ने भनेको तर उसले नमानेको बताए।

“आग्रह गरेअनुसार अत्यावश्यक सुधार गर्न उनीहरू असफल भएकाले हामी आज हाम्रो सम्बन्ध अन्त्य गर्देछौँ,” सीबीएस न्यूजले ती अधिकारीलाई उद्धृत गरेको छ।

चीनले कोरोनाभाइरस महामारी फैलाएको दाबी गर्दै ट्रम्पले डब्ल्यूएचओ चीनको दबावमा परेको आरोप लगाएका थिए।

विश्व स्वास्थ्य सङ्गठनमा चीनको पूरा नियन्त्रण भएको उनको दाबी छ।

अमेरिका डब्ल्यूएचओको प्रमुख दाता हो। उसले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम अर्थात् डब्ल्यूएचओको कुल बजेटको झन्डै १५ प्रतिशत उपलब्ध गराएको थियो।

अमेरिका बाहिरिएपछि डब्ल्यूएचको आर्थिक स्थिरता तथा स्वास्थ्यसेवा र विविध रोगसँग सङ्घर्ष गर्न सञ्चालित कार्यक्रमहरूको भविष्यबारे प्रश्न उठेको छ।