साेल। दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्।
यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन्।
आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन्। त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ।
यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ। कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ।
Leave a Reply
View Comments