यस्तो छ सेल्फीको इतिहास

काठमाडौं । आजको समयमा सेल्फीको क्रेज जो कोहीमा पनि देख्न सकिन्छ । अत्याधुनिक मोबाइल फोनमा रहेका शक्तिशाली क्यामराहरुले मानिसहरुको सेल्फी कल्चरलाई बढावा दिइरहेका छन् । पछिल्ला वर्षहरुमा सर्वाधिक लोकप्रिय बनेको सेल्फीको इतिहासका बारेमा तपाईंलाई कत्तिको थाहा छ ?

आधुनिक मोबाइल फोनमा सेल्फी क्यामरा आएसँगै सेल्फीको इतिहास सुरु भएको होला भन्ने तपाईंको अनुमान हुनसक्छ । यस्तो अनुमान गर्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई पत्यार नलाग्न सक्दछ कि विश्वमा पहिलो सेल्फी आजभन्दा डेढ सय वर्ष अगाडि खिचिएको थियो । विश्वमा सन् १८५० मा पहिलो सेल्फी खिचिएको इतिहास छ । यद्यपि त्यो सेल्फी अहिलेको जस्तो प्रष्ट र चम्किलो छैन, फगत एउटा सेल्फ पोट्रेट जस्तो छ ।

स्विडिस आर्ट फोटोग्राफर अस्कर गुस्तेभ रेजलेन्डरले विश्वको पहिलो सेल्फी खिचेका थिए । दुनियाको उक्त पहिलो सेल्फीको रुपमा रहेको सेल्फ पोट्रेटलाई उत्तरी योर्कशायरका मर्फेट्स अफ हेरोगेटले ७० हजार पाउण्डमा लिलाम गरेका थिए ।

अर्को एक दाबी अनुसार त्यसभन्दा अगाडि नै सन् १८३९ मा विश्वको पहिलो सेल्फी खिचिएको थियो । अमेरिकी फोटोग्राफर रोबर्ट कोरनेलियसले उक्त सेल्फी खिचेका थिए । उनले आफ्नो क्यामराबाट आफ्नै सेल्फी खिच्ने कोसिस गरेका थिए ।