‘कमेडी च्याम्पियन २’ को अडिसन सुरु, थप दुई शोको तयारीमा टिम

‘कमेडी च्याम्पियन सिजन २’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १५ गतेदेखि दोस्रो सिजनका लागि निर्माण पक्षले अडिसन खुल्ला गरेको हो ।

अडिसनका लागि प्रतियोगीहरूले कमेडी च्याम्पियनको एप्स डाउनलोड सोही एप्समा ४ मिनेट ५९ सेकेन्ड भिडियो पोस्ट गर्नुपर्ने हुन्छ । निर्माण पक्षका अनुसार डिजिटल अडिसन १४ असोज अर्थात् एक महिनासम्म जारी रहनेछ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार फिजिकल अडिसन पनि दसैँअगाडि नै संचालन गरिनेछ । शिलापत्रसँगको कुराकानीमा विशालले भने, ‘कात्तिकको दोस्रो साताबाट हामी प्रसारण सुरु गर्नेछौँ । त्यसैले सकेसम्म फिजिकल अडिसन भने दसैँअगाडि नै सकाउने प्रयास रहनेछ ।’

निर्देशक भण्डारी गत सिजनभन्दा यस सिजन भव्य हुने आशा व्यक्त गर्छन् । ‘गत वर्ष हामीलाई राम्रो प्रतियोगीहरू नआउने हुन् कि भन्ने तनाव थियो । यस वर्ष भने धेरै र राम्रा प्रतियोगी आउनेमा हामी विश्वस्त छौँ’, निर्देशक भण्डारी भन्छन्, ‘त्योसँगै सेटको हिसाबमा पनि हामी केही भव्य बन्दै छौँ ।’

कमेडी च्याम्पियनका लागि जज र पुरस्कारमा भने परिवर्तन भएको छैन । सिजन २ का लागि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजको रूपमा रहनेछन् । पुरस्कारमा ‍२५ लाख रुपैयाँ र एउटा कार प्रदान गरिनेछ ।

एकसाथ थप दुई शो

कमेडी च्याम्पियन टिमले नै ‘घरघरमा कमेडी’ नामक रियालिटी शो गर्ने घोषणा गरिसकेको छ । लकडाउनको समयमा नै यस शोको घोषणा भएको थियो । फुर्सदको समयका दर्शकलाई हँसाउने उद्देश्यका साथ घोषणा गरिएको यस शो अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

यस विषयमा निर्देशक भण्डारी भन्छन्, ‘लकडाउनका कारण हामीले घर घरमा कमेडीको सेट तयार गर्न सकेनौँ । त्यसैले केही ढिला हुन गएको हो । तर, केही समयमा नै हामीले यस शोलाई पनि प्रसारणमा ल्याउनेछौँ ।’

Total
1
Share