थप ५८६ जनामा कोरोना सङ्क्रमण एकको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७,१७७ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुगेको छ।

तीमध्ये १,१६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

विगत २४ घण्टामा नौ जना निको भएर अस्पतालबाट घर फर्किएको उनले बताए। अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमवार साँझ मृत्यु भएकी महिलाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

मृतक बाँके जिल्लाको वैजनाथ गाउँपालिका-६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो। डा. गौतमका अनुसार ती महिलामा मिर्गौलाको पनि समस्या रहेको बताए।

उनको सोमवार दिउँसो कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको बाँके स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले जानकारी दिए।

अस्पतालका अनुसार महिलाको मृत्यु सोमवार साँझ भएको र परीक्षणको नतिजा मङ्गलवार राति आएको हो।

Total
2
Share