मंगलवार थपिए २०४ सङ्क्रमित, कुल सङ्ख्या १६ हजार नाघ्यो

नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस थापिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।

तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्। सङ्क्रमितहरूमा बाजुरा जिल्लाका सर्वाधिक ५४ जना छन्। त्यसैगरी काठमाण्डूमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जना गरी उपत्यकामा कुल २८ जना छन्। अछाममा ११ र बैतडीमा ११ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाण्डू उपत्यकामा सङ्क्रितको सङ्ख्या बढेको भए पनि समुदायमा नफैलिएको दाबी गरे।