नेपालमा आज थपिए १८० कोरोना सङ्क्रमित, एक जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप १८० जनामा कोरोनाभाइरस सङ्क्रमण तथा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सङ्क्रमणको सङ्ख्या गएको पाँच हप्तामा सबैभन्दा कम हो।

जेठ १७ गते १७१ जनामा सङ्क्रमण पुष्टि भएयता दैनिक सङ्क्रमितको सङ्ख्या लगातार दुई सयभन्दा बढी थियो। गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २३२ जना र आइतवार २९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,९६४ पुगेको छ। तीमध्ये ६,८११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,११८ छ।

आज कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सात जना नेपाल वायुसेवा निगमका कर्मचारी भएको बताइएको छ।

उद्धार उडानमा संलग्न चालक दलका सदस्यहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। उनीहरूलाई क्वारन्टीनमा राखेको बताइएको छ।

Total
72
Share