भारत कोरोना संक्रमित देशको सुचिमा तेस्रो स्थानमा पुग्यो

भारत विश्वकै तेस्रो धेरै कोरोना सङ्क्रमित भएको मदेश बनेको छ।

भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। सङ्क्रमितको सङ्ख्याका आधारमा अमेरिकामा र ब्राजिलमा भारत भन्दा माथि छन ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ।

आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए। भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ।

विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्। सङ्क्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस आइसोलेशन सेन्टर खोलिएको छ।

देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त आइसोलेशन केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।

दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन्। भारतको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको छ।