कोरोना भाइरस : थप ३८० जनामा सङ्क्रमण, दुइ जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्।

शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच-पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डूका ९० जना र पर्साका ७३ जना रहेका छन्।

त्यस्तै धनुषाका ३७ जना र मोरङका २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित पर्सा जिल्लामा छन्। त्यहाँ आइतवार सम्म ९०३ जना उपचाररत छन्।

त्यसपछि काठमाण्डूका ७९० जना उपचाररत छन् भने रौतहटका ७४५ जना र महोत्तरीका ५७९ जना उपचाररत छन्।

काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९४८ रहेको छ। ललितपुरका १०५ र भक्तपुरका ५३ जना सङ्क्रमित उपचारमा छन्।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन्।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११:३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा. गौतमले बताए।

ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड-१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ।

उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन। मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।