नेपालमा २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ।

कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएका र १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन्।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। यसअघि सरकारले गत साता शुक्रवार सर्वाधिक सङ्ख्या अर्थात् ४४८ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।

त्यसैगरी शनिवार र आइतवार क्रमश: दुई जनाको मृत्यु तथा २७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ५,३०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,३८,६८३ पुगेको छ।

अहिले देशभरि १,३३,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस

यो पोस्टमा तपाईँको प्रतिक्रिया दिनुहोस ।

Your email address will not be published. Required fields are marked *