बैतडीमा क्वारेन्टाइनमा रहेका युवकको मृत्यु

बैतडीकाे एक क्वारेन्टाइनमा बसेका ३१ वर्षीय युवाको मृत्यु भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका बैतडीको पाटन नगरपालिका–६, का ३१ वर्षीय युवाको हिजो शनिबार साँझ मृत्यु भएको हो ।

बैतडीमा लकडाउनपछि भारतबाट आएर क्वारेन्टाइनमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । क्वारेन्टाइनमा रहेका दीर्घरोगी, गर्भवती महिला र बालबालिका जोखिममा परेका छन् ।

वैशाख १९ गते बैतडीको पुरचौडी नगरपालिका–६, भूमिराजका ६७ वर्षीय जुने लोहारको भारतबाट फर्केर क्वारेन्टाइनमै मृत्यु भयो । पीसीआर परीक्षण गर्दा उहाँमा कोराना देखिएन । उहाँ दमरोगी हुनुहुन्थ्यो ।

त्यसै गरी, जेठ २० गते बैतडीको पुरचौडी नगरपालिका–४, भटनाकी २२ वर्षीय सुनिता लोहारको पनि क्वारेन्टाइनमै मृत्यु भयो । मृतक महिलाकी १८ महिनाकी छोरी र श्रीमान पनि भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नुभएको थियो । मृतक महिलामा पनि कोरोना भेटिएन । मृतक महिला मुटुरोगी हुनुहुन्थो । बाह्र दिनदेखि उहाँले नियमित सेवन गर्ने औषधि सकिएको थियो ।

मृतक महिला र ६७ वर्षीय वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ । शनिबार साँझ बैतडीको पाटन नगरपालिका–६, स्थित भिमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा मृत्यु भएका ३१ वर्षीय युवाको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरेर धनगढी पठाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

क्वारेन्टाइनमा दीर्घरोगी, गर्भवती महिला र बालबालिका एकै ठाउँमा

बैतडीका १० स्थानीय तहमा भारतबाट आएका चार हजार ८२५ जना क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेकामध्ये ४०६ जना महिला हुनुहुन्छ । केही महिला गर्भवती हुनुहुन्छ । महिलासँग बालालिकासमेत छन् ।

बैतडीको सिगास गाउँपालिका – ६ को गणेश मावि र ७ को बालकृष्ण माविमा दुई जना गर्भवती महिला हुनुहुन्छ । चिकित्सकले उहाँहरूको यही जेठ अन्तिम साता सुत्केरी हुने समय दिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसके दुवै गर्भवती महिलालाई सडकनजिक पुग्न हिँडेर तीन देखि पाँच घण्टा समय लाग्ने ठाउँमा राखिएको छ ।

स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा दीर्घरोगी, गर्भवती महिला र बालबालिका सँगै राखेको पाइएको छ । गर्भवती महिला, बालबालिका र दीर्घरोगीले उचित स्याहार नपाउँदा जोखिम बढेको छ । यो विषयमा स्थानीय तहसँग छलफल गर्ने तयारी गरेको स्वाथ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडीमा भारतबाट फर्केर क्वारेन्टाइनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । मृतक दुई जना कोरोनाका कारण नभई दीर्घरोगको औषधि सेवन गर्न नपाउँदा मृत्यु भएको पीसीआर परीक्षणले पुष्टि गरेको छ ।

पीसीआर रोकियो, द्रूत परीक्षणले त्रास

सुदूरपश्चि प्रदेशको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबमा एक हजार थ्रोट स्वाब परीक्षण गर्न बाँकी रहेकोले पाँच दिनसम्म नयाँ थ्रोट स्वाब सङ्कलन नगर्न/नगराउन निर्देशन आएपछि बैतडीमा थ्रोट स्वाब सङ्कलनको काम रोकिएको छ ।

द्रूत परीक्षण (आरडिटी) गर्दा कोरोना पोजेटिभ देखिएका १५२ जनाको पीसीआर रिपोट धनगढीमै रोकिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसैले थप पीसीआर परीक्षण गर्न थ्रोट स्वाब लिने काम रोकिए पनि शनिबारसम्म क्वारेन्टाइनमा १४ दिन पूरा गरेका ६९१ जनाको आरडिटी (द्रूत परीक्षण) गर्दा १०३ जनाको कोरोना पोजेटिभ देखिएपछि त्रास बढेको छ ।

लकडाउनयता बैतडीमा अहिलेसम्म चार हजार २८८ जनाको आरडिटी परीक्षण गर्दा ३१९ जनामा कोरोना पोजेटिभ देखिएको छ तर, ती सबैको थ्रोट स्वब लिएर पीसीआर परीक्षण गर्दा जम्मा दुई जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।

भारतबाट गौरीफन्टा नाका भएर आएका बैतडीको शिवनाथ गाउँपालिकाका थप चार जनाको धनगढीमै पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उहाँहरूलाई सेती अस्पतालमा राखिएको छ । -गोकर्ण दयाल/गोरखपत्र