बनारसमा विश्व हिन्दु सेनाका कार्यकर्ताद्वारा एक नेपालीको बलपूर्वक केस मुण्डन

भारतको बनारसमा विश्व हिन्दु सेनाका कार्यकर्ताद्वारा एक नेपालीको बलपूर्वक केस मुण्डन र दुर्व्यवहार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा नेपालीमाथि दुव्यर्वहार भएको हो ।

विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् ।

घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको थियो । यसको लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर गरेको छ ।

यसैबीच नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्रीले घटनामा संलग्नलाई सख्त कारवाही गरिने बताएका छन ।

तर विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताको यस कदमलाई सही बताएका छन । उनले भने प्रधानमन्त्री केपी शर्मा ओली लगातार भारत बिरुद्ध बयानबाजी गरिरहेका छन । तर भगवान श्री रामको बारेमा विवादित अभिव्यक्तिलाई सहन गरिने छैन ।