नेपालमा थप ४३४ कोरोना सङ्क्रमितको पुष्टि, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ।

योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ।

तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।

डा. देवकोटाका अनुसार सोमवार राति पोखरास्थित अस्पतालमा मृत्यु हुने व्यक्ति स्याङ्जाका हुन्। उनमा मधुमेह र श्वासप्रश्वासमा समस्या थियो।

कोभिड-१० पुष्टि भएपछि ती व्यक्तिलाई असार ८ गते पोखरा ल्याएर अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको असार १० गते राति मृत्यु भएको डा. गौतमले बताए।

अहिले सङ्क्रमण पुष्टि भएकामध्ये पाल्पाका सर्वाधिक ११५ जना छन्। काठमाण्डू उपत्यकामा पनि छ जनामा कोभिड-१९ पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाण्डूमा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना डोल्पा र एक जना सुनसरीका हुन्।

डोल्पाका पुरुष असार ७ गते नेपालगन्जबाट काठमाण्डू आएको र सुनसरीका पुरुष गत असार २ गते माल्दिभ्सबाट आएको बुझिएको छ। उनीहरूमा कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ।

गागलफेदीका एक पाँच वर्षीय बालकलाई ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको छ।

त्यस्तै सुकेधाराका एक महिला र एक पुरुष तथा थापागाउँकी एक महिलामा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। उनीहरू दुवै जना भारतबाट एक कोरोनाभाइरस सङ्क्रमित व्यक्तिसँगै एउटै गाडीमा फर्किएको मन्त्रालयले जनाएको छ।

ज्वरो आएर परीक्षण गराउन अस्पताल गएका नख्खुका एक किशोरमा पनि कोभिड-१९ पुष्टि भएको छ।