काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा ५५४ जनाम कोरोना सङ्क्रमण को पुष्टि गरेको छ। यो सँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ।
तीमध्ये २,८३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयले थप १३६ जना निको भएको तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको हो।
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।
शुक्रवार ५९३ जना, बिहीवार ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अहिलेसम्म रसुवासहित सबै ७७ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।
रसुवा जिल्लामा आठ महिला र एक पुरुषमा कोभिड-१९ पुष्टि भएपछि सबै प्रदेशका सबै जिल्लामा कोरोनाभाइरस पुगेको पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४,६०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
Leave a Reply
View Comments