थप २७३ जनमा कोरोना संक्रमण, दुइको मृत्यु

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार पुष्टि गरेको छ।

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।

लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको तर निको नभएपछि शुक्रवार बिहान वीरगन्ज लगिएको बताइएको छ।

हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो।

शनिवार नै २७३ जनाको कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,३३५ पुगेको छ। तीमध्ये

शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका हुन्।

उनले असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १०,००० पुर्‍याइने पनि बताए।