नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने – विश्व बैंक

विश्व बैङ्कले गरेको प्रक्षेपणअनुसार सन् २०२१ मा समेत नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ ।

यो प्रक्षेपण अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरेका सात प्रतिशतको आर्थिक वृद्धिदरभन्दा निकै कम हो । यसको अर्थ नेपालको अर्थ ब्यबस्था पनि कोरोना महामारीको कारण संकटमा पर्ने निश्चित छ ।

तुलनात्मक रुपमा नेपाल दक्षिण एसियामा अगाडि

कोरोना भाइरसको महामारीले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक सबैभन्दा नराम्रोसँग प्रभावित हुने भएको छ । दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । यो मुलुकको आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक देखिने भएको छ ।

माछाको व्यापार र पर्यटनमा आधारित यो देशमा अर्थतन्त्र सन् २०२१ मा भने उल्लेख्य सुधारको प्रक्षेपण गरिएको छ । दक्षिण एसियामा अफगानिस्तान, भारत, श्रीलंका र पाकिस्तानको अर्थतन्त्रसमेत ऋणात्मक हुने प्रक्षेपण विश्व बैङ्कको छ।

विश्व अर्थतन्त्रबारे विश्व बैङ्कले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै विश्व बैङ्कले सन् २०२० मा भारतको अर्थतन्त्रमा ३.२ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ । भारतीय अर्थतन्त्रको दृष्टिकोणबाट यो विशाल खाडल हो । भारतले सन् २०२१ मा भने यो खाडल पुर्नसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा भारतले फेरि ३.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य छ।

भारतले वित्त वर्ष सन् २०१९/२० मा भने ४.२ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने अनुमान छ। यसको समय भने मार्च २०२० मै सकिएको छ । दक्षिण एसियाका सबै मुलुकमध्ये २०२० मा नेपालमाथि रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । यसका बाबजुद दक्षिण एसियाको आर्थिक वृद्धि २.७ प्रतिशतले संकुचनमा आउने भएको छ । सन् २०२१ मा यो संकुचनमा सुधार आउने अनुमान गरिएको छ ।

दक्षिण एशियामा कोरोनाको प्रभाव कम छ

नेपालसहित दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित हुने जनसंख्या कम छ । तर यसको रोकथामका लागि सरकारहरूले अपनाएको विधिबाट अर्थतन्त्र बढी प्रभावित भएको विश्व बैङ्कले जनाएएको छ ।

खासगरी पर्यटकीय गतिविधि शून्यमा झरेको, निर्यातमूलक उद्योग प्रभावित बनेको र अल्पकालीन आर्थिक गतिविधिमा भएको रोकावटले अर्थतन्त्रमा प्रभाव पारेको हो ।

विश्व बैङ्कले भनेको छ, ‘महामारीबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्यो, जसले गर्दा अर्थतन्त्रमा पर्यटनको ठूलो हिस्सा रहेका भुटान, नेपाल, श्रीलंका र माल्दिभ्सको अर्थतन्त्रमा उच्च गिरावट आएको हो । नेपालसहितका देशको अर्थतन्त्रमा पर्यटन र यससँग जोडिएका आर्थिक क्रियाकलापले जीडीपीमा दुई तिहाइसम्म हिस्सा ओगटेको विश्व बैङ्कले अनुमान गरेको छ । उद्योग क्षेत्र प्रभावित हुँदा ठूला औद्योगिक मुलुकमध्ये पर्ने भारत, बंगलादेशलगायत मुलुकको अर्थतन्त्रमा प्रभाव परेको हो ।

अर्थतन्त्रमा दोश्रो विश्वयुद्ध यताकै नकारात्मक प्रभाव

सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर -५.२ प्रतिशतको ऋणात्मक रहने अनुमान विश्व बैङ्कले गरेको छ । यो गिरावट दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम भएको विश्व बैङ्कले उल्लेख गरेको छ।

विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जानेछ । चीनको आर्थिक वृद्धिदर एक प्रतिशतमा समेटिँदा रुसको अर्थतन्त्र ६ प्रतिशतले गिरावटमा आउने भएको छ।