वैदेशिक रोजगारी : जापानमा नेपाली कामदार कहिले देखि जान पाउँछन् ?

दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू केही समय भित्र जापान जान पाउने छन् । करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो। यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै “केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको” अधिकारीहरूको भनाइ छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार…

दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू केही समय भित्र जापान जान पाउने छन् । करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो। यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै “केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको” अधिकारीहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा तथा सहप्रवक्ता थानेश्वर भुसाल भन्छन्,

हामीले जुन किसिमको समझदारी गरेका छौँ त्यसमा केही प्रष्ट पार्नुपर्ने कुराहरू देखिएका छन्। हामीले त्यस्ता अन्योल हटाउनेबारे आवश्यक पहल सुरु गरिसकेका छौँ।

तर भाषा र दक्षता परीक्षा पास गरेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त्यस्ता अन्योलकै आधारमा नपठाउने भन्ने हुँदैन। त्यसैले हामीले सकेसम्म चाँडै पठाउनका लागि सबैखाले विकल्प अघि बढाएका छौँ।”

“हामीले अघि बढाएका कुराहरूमा जापानी पक्ष पनि सकारात्मक भएकाले सकेसम्म चाँडै यो विषय टुङ्गिन्छ,” भुसालले भने।

नेपालमा कोरियाकै जस्तो प्रणालीबाट अहिले जापानले भाषा तथा सीप परीक्षा लिइरहेको छ।

उसले त्यसका लागि जापान फाउन्डेसनलाई जिम्मा दिएको छ।

यद्यपि भाषा र सीप परीक्षा पास गरेका कामदारलाई व्यक्तिगत रूपमा, वैदेशिक रोजगार व्यवसायीसँगको साझेदारीमा वा सरकार-सरकारबीचको सम्झौताका आधारमा पठाउने भन्नेबारे अन्योल देखिएको छ।

तर भाषा र सीप परीक्षा पास गरेका करिब ८०० जति कामदार व्यक्तिगत पहलमै जापान गइसकेका छन्।
हालसम्म नेपालमा साढे पाँच हजार जतिले त्यस्ता परीक्षा पास गरिसकेको विवरण श्रम मन्त्रालयले दिएको छ।

भुसालका अनुसार करिब दुई हजार नेपालीहरूले नर्सिङ तथा स्याहार क्षेत्रका लागि सीप परीक्षा पास गरिसकेका छन्।

त्यस्तै कृषि क्षेत्रमा सात सय जतिले योग्यता परीक्षा पास गरेका छन्। उत्पादन र खाद्य सेवा उद्योगका लागि पनि केही नेपालीहरू छानिएका छन्। तर उनीहरूलाई पठाउने ‘मोडालिटी’ स्पष्ट नहुँदा ढिलाइ भएको अधिकारीहरूको भनाइ छ।

नेपाल र जापानबीच सन् २०१९ मा एउटा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

उक्त समझदारी अनुसार निर्दिष्ट सीप भएका कामदार (स्पेसिफाइड स्किल्ड वर्कर्स- एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर दिने व्यवस्था गरिएको छ।

दुई साताअघि काठमाण्डूमा सोही समझदारी अनुसार बनेको संयुक्त कार्य समितिको पछिल्लो बैठक बसेको थियो।

उक्त बैठकले कामदारलाई जापान पठाउन देखिएका अन्योललाई हटाउन पहल गर्ने निर्णय गरेको बताइएको छ। कार्यदलमा नेपाल र जापानका अधिकारीहरू सदस्य रहेका छन्।

बैठकमा नेपाल र जापानबीच भएको समझदारीपत्रलाई नेपाल र जापानका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसको तयारी गर्नेबारे छलफल भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार बैठकमा जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउनेबारे पनि छलफल भएको थियो।

त्यस्तै नेपालमा जापानी भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई जापान पठाउन नेपाल र जापान दुवैतर्फबाट सहजीकरण गर्ने तथा जापानले आफ्ना रोजगारदातालाई एसएसडब्लू प्रणाली अन्तर्गत नेपालबाट कामदार आउने कुरा जानकारी गराउने भन्ने निर्णय पनि बैठकले गरेको थियो।

जापानमा नेपाली कामदार

नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदन अनुसार सन् २०१९/२० मा नेपालबाछ ९३९ जना कामदारहरू जापान गएका थिए। त्यस्तै सन् २०२०/२१ मा ५५३ र सन् २०२१/२२ मा २,४७८ कामदारहरू जापान गएको देखिन्छ।

जापानमा अहिले करिब एक लाख २० हजार नेपालीहरू बसोबास गर्ने गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिव पौडेल बताउँछन्।

उनका अनुसार जापानमा भएका नेपालीमध्ये अधिकांश विद्यार्थी छन् केहीले व्यवसाय गरेका छन् भने श्रमिकका रूपमा पनि केही रहेका छन्।
जापानले सन् २०१९ बाट कार्यावन्वयन गरेको एसएसडब्लू न‌ीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाइरहेका छन्।

जापानले नेपालसहित चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलियालगायतका देशबाट कामदार लिने नीति लिएको छ।

तीन वर्षअघि गरिएको एउटा सर्वेक्षणमा जापानमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारहरूको अभाव हुने देखिएको थियो।

उक्त अभावलाई पूर्ति गर्ने भन्दै जापानले तीन वर्षअघि नै कामदारसम्बन्धी नयाँ नीति ल्याएको थियो।

एसएसडब्लू जापानले सन् २०१९ को एप्रिल महिनादेखि सुरु गरेको कामदार भित्र्याउने प्रणाली हो।

उक्त प्रणाली अन्तर्गत जापानमा निर्दिष्ट दक्षता भएका व्यक्तिहरूले सीमित समय बसोबासको अनुमति सहितको भिसा पाउने जापानी परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार एसएसडब्लू प्रणाली अन्तर्गत विभिन्न १४ वटा क्षेत्रमा कामदारहरू जान पाउँछन्।

ती क्षेत्रमा नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योग, औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा एलेक्ट्रोनिक्स उद्योग, निर्माण, पानी जहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मतसम्भार, उड्ड्ययन, होटलसम्बन्धी उद्योग, कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन र खाद्य सेवा उद्योग रहेका छन्।

उक्त प्रणाली अन्तर्गत जापान जाने कामदारहरूले हरेक वर्ष, हरेक ६ महिना वा हरेक ४ महिनामा नवीकरण गरिनेगरी बढीमा ५ वर्षसम्म बस्न पाउने जापानको परराष्ट्र मन्त्रालयको विवरणमा उल्लेख छ।

जापानका काम गर्नका निम्ति दक्ष हुनु जरुरी रहेको र त्यसका लागि प्राविधिक इन्टर्स प्रशिक्षण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

जापानी परराष्ट्र मन्त्रालयले भाषाको ज्ञानबारे भनेको छ, “दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुण हुनुपर्नेछ। भाषिक दखल परीक्षाद्वारा पुष्टि भएको हुनुपर्छ।”

यसरी कामदारका रूपमा जापान जानेले स्थायी रूपमा उतै बस्ने र आफ्ना परिवारका सदस्यलाई लान पाउने छैनन्।

जापानमा कति कमाइ हुन्छ?


गैर आवासीय नेपाली सङ्घ जापानका अध्यक्ष पौडेलका अनुसार उक्त प्रणालीबाट जापान जाने नेपाली कामदारले न्यूनतम डेढ लाखदेखि तीन लाख नेपाली रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्छन्।

तर उनी नर्सिङ तथा स्याहार, उत्पादन क्षेत्र तथा पर्यटन क्षेत्रमा बढी तलब हुने बताउँछन्।

“कृषि क्षेत्रमा भने कम तलब हुन्छ। काम गर्न पनि ग्रामिण क्षेत्रमा बस्नुपर्ने हुन्छ,” उनले भने।

नेपालबाट जापान जान चाहनेले आफूले काम गर्ने कम्पनीको अवस्थादेखि त्यहाँको पाइने पारिश्रमिक र त्यसमा लाग्ने कर एवम् बिमासम्बन्धी व्यवस्था बुझेर मात्र जानुपर्ने उनको सुझाव छ।

“ठूलो तलब पाइन्छ भन्ने कुरा पनि प्रचार भएको देखिन्छ त्यसबारे विस्तृतमा बुझेर मात्र आउनु राम्रो हुन्छ,” उनले भने।

जापानमा कामलाई धेरै महत्त्व दिने गरिएकाले आफूलाई सीपमा दक्ष बनाएर मात्र जाँदा राम्रो हुने उनको सुझाव छ। यो खबर शीर्षक परिबर्तन गरेर बीबीसी नेपाली बाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published.